NEPAL MAGAR TOURISM SOCIETY

पर्यटकलाई पारिवारिक माया

PUBLISHED September 21, 2014

पर्यटकलाई पारिवारिक माया

मुलुकभर होमस्टेको लहर चलेको छ। पर्यटकलाई गाउँलेकै भान्छामा खानपिन गराएर घरमा बसाइन्छ। त्यसैले होटलभन्दा सस्तो हुन्छ। मायालु वातावरण पाइन्छ।

सिरुबारी
नेपालको पहिलो होमस्टे गाउँ सिरुबारी। स्याङ्जाको पञ्चमुल गाविस–४ लाई सिरुबारी भनिन्छ। गाउँका ४५ मध्ये गुरुङका २२ घरमा होमस्टे छ। गाउँ सफा छ। बीचमा गुम्बा छ। पर्यटन विकास समितिका पर्यटन संयोजक जुम गुरुङका अनुसार पाहुनालाई करेसाबारीको हरियोपरियो तरकारी, भैंसीको दूध, दालभात र लोकल कुखुरा खुवाइन्छ।

सिरुबारीबाट हिमाल देखिँदैन। गाउँमाथि देउरालीबाट आँखासामुन्ने धौलागिरि, अन्नपूर्ण, माछापुच्छे्रदेखि लमजुङ हिमाल देखिन्छ। डाँडाको टुप्पी (गोरुजुरे) पुग्न २ घन्टा लाग्छ। दुईराते प्याकेज मूल्य २ हजार रुपैयाँ। ऊनबाट बनेको कालो टोपी किन्न पाइन्छ।

कसरी पुग्ने : काठमाडौंबाट पोखरासम्म बसमा। पोखराको पृथ्वीचोकमा पाइन्छ सिरुबारी जाने बस। बिहान १०ः३०, ११ र दिउँसो १ बजे छुट्छन् ती।
सम्पर्क : ९८०६५३८८९३, जुम गुरुङ

घलेगाउँ
लमजुङको उत्तरकन्या गाविसका १, २ र ३ वडालाई घलेगाउँ भनिन्छ। गाउँका ११६ घरमध्ये २९ वटामा ‘होमस्टे' सुविधा छ। एकराते प्याकेज मूल्य ८५० रुपैयाँ। प्याकेजमा लन्च, डिनर, बेड र ब्रेकफास्ट हुन्छ।
लमजुङको घलेगाउँ प्रख्यात छ। जहाँ ०७० सालमा २२ हजार ४९० पर्यटक पुगे। त्यसमा करिब ७ सय विदेशी, बाँकी नेपाली।

गाउँमा ०५७ देखि होमस्टे छ। गुरुङ जीवनशैली र हिमाली सौन्दर्य पाइन्छ त्यहाँ। जहाँबाट अन्नपूर्ण, मनास्लु र लमजुङ हिमशृंखला देखिन्छ। घलेगाउँ सँगैका घनपोखरा र भुजुङ पनि उत्तिकै सुन्दर छन्।
कसरी पुग्ने : बालाजु, काठमाडौंबाट बस तथा माइक्रोबस छुट्छन्। तिनले ६ घन्टामा बेँसीसहर पुर्याुउँछन्। बेँसीसहर–घलेगाउँ २८ किमि कच्ची सडकमा जीप चल्छ। पदयात्रा गर्ने हो भने बेँसीसहर पर्तिर खुदीबाट ५ घन्टा।
सम्पर्क : ९८४६१९३०६७, दीर्घ घले

भादा
कैलालीको भादामा थारू होमस्टे छ। थारूको खानपिन, जीवनशैली, संस्कृति हेर्न पर्यटक आउँछन्। उर्मा गाविस–८ भादामा १८६ घर छन्। १८ घरमा पाहुना राखिन्छ। ०६७ पुसदेखि होमस्टे चलाएको।
दिउँसो घुमेर फर्कनेहरू धेरै छन्। भादा गाउँ पर्यटन विकास समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीका अनुसार साढे ६५ सय जना रात बसिसकेका छन्। पाहुनालाई लोकल कुखुरा, माछा र रक्सी खुवाइन्छ।
साँझ सखिया, हुर्दङवा, झुमरा र मघौटा, लट्ठी नाच देखाइन्छ। भादाबाट ५ किमि दुरीमा बेहडाबाबा मन्दिर छ। लहरुमा गाउँ डुल्न सकिन्छ। गाउँबाट लिन र पुर्यादउन धनगढी, झिल र राजीपुरसम्म लहरु (गोरु गाडा) आउँछन्।
सस्तो छ प्याकेज। १ रातको ६ सय रुपैयाँ। यति रकमले बास, लन्च, डिनर र ब्रेकफास्ट पाइन्छ।

कसरी पुग्ने : काठमाडौं–धनगढी किमि। धनगढीबाट बेली हुँदै भादागाउँ पुग्न १७ किलोमिटर। पूर्वपश्चिम राजमार्गको चौमाला खण्डको राजीपुरबाट ७ किमि र झिलबाट १२ किमि पर्छ।
सम्पर्क : ९७४९०२८००४ लक्ष्मीनारायण चौधरी।

पात्लेखेत
सूर्योदय र हिमाली सौन्दर्य हेर्न उपयोगी छ, काभ्रेको पात्लेखेत। त्यहाँ अर्गानिक खाना पाइन्छ। गाई र पोल्ट्री फार्म छन्। गाउँमा गणेश र कालीदेवी मन्दिर छन्। नमोबुद्ध हाइकिङ गर्न २ घन्टा लाग्छ।
मिश्रित जातिको बसोबास छ। बाहुन, क्षेत्री र तामाङका १५ घरमा होमस्टे गराइन्छ। एकैपटक ३० जना रात बिताउन सक्छन्। ०६७ मा होमस्टे सुरु भएको। समूहमा जाने पाहुनालाई उनीहरू पञ्चै बाजाले स्वागत गर्छन्। साँझ तामाङ ढ्यांग्रो बजाएर नाच्छन्, बाहुन खैंजडी भजन गाउँछन्।

नेपालीभन्दा विदेशी धेरै पुग्छन्। जापानी धेरै आउँछन्। प्याकेज मूल्य ७ सय रुपैयाँ। यसमा लन्च, डिनर, ब्रेकफास्ट र बास हुन्छ।

कसरी पुग्ने : काठमाडौबाट ४२ किमिमा पात्लेखेत। बनेपा–बर्दिबास सडकको डाँडागाउँमा बसबाट ओर्लनुपर्छ। बनेपाबाट नेपालथोक र भकुन्डे छुट्ने गाडीमा जान सकिन्छ।
सम्पर्क : ९८४१४१५१९०, केशवप्रसाद बडाल

चित्लाङ
काठमाडौं उपत्यकाबाट बाहिरिने पुरानो नाका चन्द्रागिरि भञ्ज्याङ (२,२८० मिटर)। भञ्ज्याङ मुन्तिर ६ किलोमिटरमा मकवानपुरको चित्लाङ गाउँ।
उत्तरदक्षिण फैलिएको उपत्यका हो, चित्लाङ। त्यहाँ नेवार, तामाङ, क्षत्री, बाहुन र बलामीको बसोबास छ। नेवार, ठकुरी र क्षत्रीका ६ घरमा होमस्टे सुविधा। एकै रात सय जना बस्न सक्छन्। प्याकेज मूल्य १२ सय रुपैयाँ। त्यसमा लन्च, डिनर, ब्रेकफास्ट र बास पाइन्छ। सांस्कृतिक कार्यक्रमको छुट्टै तिर्नुपर्छ।

हेर्ने कुरा चिज धेरै छन्। सम्राट अशोकले ईसापूर्व २७३ मा बनाएको चैत्य छ। तलेजु भवानी कोत, सातधारा, त्रिगजुरेश्वर शिवालय, बाख्रा फर्म, स्वच्छन्द भैरव आदि सम्पदा छन्।

कसरी पुग्ने : काठमाडौंको थानकोट पार्कपछाडि गोदामबाट जीप चल्छन्। त्यहाँबाट चन्द्रागिरि भञ्ज्याङ हुँदै चित्लाङ पुगिन्छ। बाटो कच्ची छ। गोदाम–चित्लाङ १३ किमि।
सम्पर्क : ९८०४३९१८८२, राधाकृष्ण बस्नेत

मेघौली
मेघौली उदाउँदो गन्तव्य हो। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र मेघौली वाइल्ड लाइफका लागि प्रख्यात छ। हात्ती चढ्ने सुविधा छ। राप्ती र नारायणी संगम गोलाघाटमा सूर्यास्तको मनमोहक दृश्य देखिन्छ।
त्यहाँको पुरानो एयरपोर्टसँगैको गाउँमा होमस्टे सुविधा छ। थारू समुदायको ५ घरमा ०६८ माघदेखि होमस्टे सुरु गरिएको हो। सामुदायिक होमस्टेका उपाध्यक्ष आशाराम महतोका अनुसार विदेशीभन्दा नेपाली पाहुना बढी आउँछन्। उनीहरूले दुईराते प्याकेज बनाएका छन्। प्याकेज मूल्य : ८ हजार रुपैयाँ। यसमा सांस्कृतिक कार्यक्रम झम्टा, फागु, झुमरा नाच हुन्छ। थारू खाना माछा, घोंघी, चिँचर, मुसाको मासु दिइन्छ। हात्ती सफारी, डुंगा, जंगल वाक, गाडा सफारी गराइन्छ। घोडा चढ्न पाइन्छ।

कसरी पुग्ने : काठमाडौंबाट–मेघौली १८५ किमि। कलंकीबाट दिउँसो १ बजे मेघौली जाने बस छुट्छ। नारायणघाटमा पनि बस पाइन्छ। नारायणघाट–मेघौली २५ किमि।
सम्पर्क : ९८४५१४५८०८, आशाराम महतो

बौघागुम्हा
मगर जीवनशैली र संस्कृति बु‰न पाल्पाको बौघागुम्हा। मगरका ४ घरमा होमस्टे सुविधा छ। ०६६ फागुन २३ बाट होमस्टे सुरु गरिएको। गाउँबाट हिमाल त देखिन्छ नै, १ घन्टा ओरालो झर्यो६ भने कालीगण्डकी तिरको रानीमहल पुगिन्छ।

नेपालकै ठूलो त्रिशूलयुक्त भैरव मन्दिर पुग्न अढाइ घन्टा लाग्छ। एकराते प्याकेजको ७ सय रुपैयाँ। नेपाली र विदेशी बरोबर पुग्छन्। मगर नाचगान हेरेको छुट्टै तिर्नुपर्छ।
कसरी पुग्ने : काठमाडौं–बौघागुम्हा ३१७ किमि। तानसेन–बौघागुम्हा ११ किमि। विशालबजार तानसेनबाट रिजर्भ जीप जान्छ। हिँडेर जाँदा ३ घन्टा।
सम्पर्क : ९८४७०९८००१ टुकबहादुर थापा

अन्तु
इलामको श्रीअन्तु र समालबुङ २ गाविस मिलाएर अन्तु पर्यटन क्षेत्र घोषणा गरिएको छ। अन्तु डाँडा (१,८२३ मिटर) बाट सूर्योदय/सूर्यास्त देखिन्छ। डाँडा समालबुङमा पर्छ।

अन्तुबाट पारि मिरिक देखिन्छ। २ घन्टामा सीमावर्ती मिरिक बजार पुगिन्छ। अन्तु क्षेत्रको ६० प्रतिशत चियाले ढाकेको छ। चियाबारीले मनै हर्छ।

अन्तु पर्यटन विकास केन्द्रका अध्यक्ष धनकुमार आलेका अनुसार गाउँका ३ दर्जन घरमा होमस्टे छ। सस्तोमा खाना र बास पाइन्छ। साँझ लाप्चा, राई, मगर, तामाङ, लिम्बु र नेवार संस्कृति झल्कने नाचगान देखाइन्छ।
कसरी पुग्ने : काठमाडौं–फिक्कल ६६० किमि। फिक्कल–अन्तु १५ किमि। फिक्कलबाट जीप चल्छन्।
सम्पर्क : ९७४२६१५३०३, धनकुमार आले

दलचोकी
दक्षिणी ललितपुरको दलचोकी २३ सय मिटरमा छ। डाँडाबाट हिमाल, सूर्योदय र सूर्यास्त देखिन्छ। चारैतिर हरिया डाँडा देख्दा मन रमाउँछ।
लेलेको टीकाभैरवबाट हाइकिङ गरेर १ रात बस्न जानु बेस हुन्छ। गाउँसम्म कच्ची मोटर बाटो छ। सप्ताहन्त (विकेन्ड) मनाउन नेपाली त्यहाँ पुग्ने गरेका छन्। गाउँमा होटल छैन। मगर र बाहुनका घरमा होमस्टे छ। दलचोकी सामुदायिक होमस्टेका सदस्य रामप्रसाद तिमल्सिनाका अनुसार प्याकेज मूल्य ७ सय रुपैयाँ। जसमा बास, डिनर, लन्च र ब्रेकफास्ट हुन्छ।

कसरी पुग्ने : लगनखेल बसपार्कबाट टीकाभैरवसम्म बस यात्रा। त्यहाँबाट ८ किलोमिटरमा दलचोकी। टीकाभैरवबाट भैंसे, मल्ल होटल, आर्मी क्याम्प हुँदै दलचोकीको मनकामना मन्दिर।

सम्पर्क : ९७४१०४६१०० रामप्रसाद तिमल्सिना

घलेल
मर्दी, माछापुच्छे्र र अन्नपूर्ण हिमालको काखमा छ, घलेल। क्यानोनिङ, तारेवराह, असला माछा र गुरुङ जीवनशैली पाइन्छ त्यहाँ। कुदी खोलामा क्यानोनिङ गरिन्छ। खोलामा १२, ९, ७५ र ४५ मिटरका झरना छन्।
पोखरा पर्तिर ल्वाङघलेल गाविसको वडा नं ५ र ६ लाई घलेल गाउँ भनिन्छ। त्यहाँ ८० घर छन्। गाउँका ८ घरमा होमस्टे छ। पाहुनालाई गाउँमै उत्पादित तरकारी, लोकल कुखुराको मासु, दूध दही, कोदोको ढिँडो, दालभात खुवाइन्छ। घलेलबाट अढाई घन्टा हिँडे अर्को सुन्दर गाउँ ल्वाङ पुगिन्छ। त्यहाँ पनि होमस्टे छ। ६ सय रुपैयाँको होमस्टे प्याकेजमा डिनर, ब्रेकफास्ट, बेड, वेलकम ड्रिक्स र लन्च हुन्छ।
कसरी पुग्ने : काठमाडौंबाट पोखरा २ सय किमि। पोखरा–घलेल १९ किमि। दिउँसो ४ बजेसम्म पोखरा उपत्यकाको हेम्जाबाट जीप पाइन्छ।
सम्पर्क : ९८५६०२८२०२, रामबहादुर गुरुङ

तनहुँसुर
तनहुँ जिल्लाको तनहुँसुरबाट हिमालहरू देखिन्छन्। गाउँमा विष्णु, चण्डीदेवी, कालिका, भीमसेन, विन्ध्यवासिनी, भगवती र खड्गमाई मन्दिर छन्। तनहुँसुर ऐतिहासिक डाँडा हो। जहाँ चौबीसे राजाको दरबारको भग्नावशेष छ। इतिहासअनुसार पाल्पाका राजा मणिमुकुन्द सेनका छोरा भृंगीसेन तनहुँसुरका पहिलो राजा हुन्। पछि ८ जना राजा भए।

गाउँमा पर्यटकीय आकर्षणका तनहुँसुर दरबार, टुँडिखेल, गढी, हात्ती बाँध्ने ढुंगा, गद्दी चौतारो, ढुंगेसाँघु, जारकाटे ढुंगा र तोप छन्। अग्ला थुम्का (त्रितुङ) छन्।
तनहुँसुर (१,२२० मिटर) मा होटल छैन। नेवार र मगरका होमस्टेमा ३ दर्जन बस्न सक्छन्। प्याकेज मूल्य १ हजार रुपैयाँ।

कसरी पुग्ने : तनहुँको सदरमुकाम दमौलीबाट दिउँसो ३ बजे तनहुँसुर जारकाटे भञ्ज्याङका लागि बस छुट्छ। भञ्ज्याङबाट २० मिनेटमा तनहुँसुर। घाँसीकुवाबाट पदयात्रा गर्दा ३ घन्टा उकालो।
सम्पर्क : ९८४६२७५२६५, विन्दु थापा

बारपाक
उत्तरी गोरखाको बारपाक गाविसका ४ देखि ९ सम्म वडाको एउटै गाउँ छ। घले र गुरुङ, विश्वकर्मा र परियार बस्ती। पहिलो विश्वयुद्धमा भिसी विजेता गजे घलेको गाउँ। बौद्ध हिमालको फेदमा ढुंगेघर चिटिक्क छन् गाउँ।
त्यहाँबाट गणेश र शृङी हिमालको दर्शन मिल्छ। १ दिन पदयात्रा गर्ने हो भने नारदपोखरी (४,५०० मिटर) पुगिन्छ। गाउँमा भिसी सामुदायिक संग्रहालय छ। जातजातिका सामान संगृहीत छन्।

एडभेन्चर ग्रामिण विकास (सेभेन सिस्टर) को सक्रियतामा गाउँका घले र गुरुङ घरमा ०६६ देखि होमस्टे चलाइएको। प्याकेज मूल्य ७ सय रुपैयाँ। सांस्कृतिक कार्यक्रम मारुनी नाच, चुड्का र दोहोरी देखाइन्छ।
कसरी पुग्ने : काठमाडौं नयाँ बसपार्कबाट बिहान ६ः१५ बजे छुट्छ भालुस्वाँरा हुँदै बारपाक जाने बस। बालुवासम्म जान्छ। त्यहाँबाट ५ घन्टा पदयात्रा या जीपमा।
सम्पर्क : ९८४१४५९९३७ निशा घले

भीमढुंगा
शिवपुरी–नार्गाजुन राष्ट्रिय निकुञ्जसँग जोडिएको काठमाडौंको भीमढुंगा। थाप्ले डाँडा (१,८०० मिटर) बाट काठमाडौंको छबी, सूर्योदय र सूर्यास्त देखिन्छ। भीमडुंगा पर्यापर्यटन विकास समितिको पहलमा थाप्ले गाउँका ५ वटा तामाङ घरमा होमस्टे गरिएको छ। एकराते प्याकेज मूल्य १५ सय रुपैयाँ। पाहुनाको मागअनुसार साँझ सांस्कृतिक कार्यक्रम देखाइन्छ।

गाउँमा जाल्पादेवी, लक्ष्मेश्वर महादेव, मंगलीदेवी, चुनदेवी, शक्तिबल्वेश्वर मन्दिर, गुरुजुको धारापौवा, ठूलोधारा, बौद्ध गुम्बा छन्। गुप्तेश्वरी गुफाभित्र शिव र पार्वतीका मूर्ति छन्।
कसरी पुग्ने : काठमाडौं–भीमढुंगा १५ किमि। कलंकी हुँदै सीतापाइला चोकबाट बसपार्कसम्म गाडीमा। सीतापाइलामा भीमढुंगा जाने बस पाइन्छ। गाउँसम्मै कच्ची सडक छ। बसपार्कबाट पदयात्रा। सीतापाइला चोकबाट ६ किमिमा।
सम्पर्क : ९८४१७४७०८७ श्यामबाबु कुँवर

डल्ला
बर्दिया राष्ट्रिय निकञ्जको मध्यवर्ती क्षेत्रमा होमस्टे छ। सूर्यपटुवा–४ डल्लाका २२ थारू घरमा। १ घर कुमालको हो भने बाँकी थारूका। साँझ सामुदायिक भवनमा सांस्कृतिक कार्यक्रम देखाइन्छ। झुमरा, लठ्ठी, मजिरा र छोकरा नृत्य।

शिव सामुदायिक वनका उपभोक्ताले संरक्षणसँगै पर्यटनबाट आम्दानी लिन ०६७ फागुनबाट होमस्टे चलाइएको हो। होमस्टे व्यवस्थापन समितिका अध्यक्ष परशुराम चौधरीका अनुसार होमस्टे सुरु भएपछि नाचहरूको पुनःजागरण भएको छ।

१३ सय रुपैयाँको प्याकेजमा डिनर, ब्रेकफास्ट, बास र स्वागत सुविधा हुन्छ। दालभात, तरकारी, अचारदेखि थारू खाना घोंगी, चिँचर, माछा, लोकल कुखुरा, मुसाको पकुवा, महुवाको रक्सी आदि पाइन्छ।
कसरी पुग्ने : पूर्व–पश्चिम राजमार्गको अम्बासाबाट १३ किमिमा ठाकुरद्वारा। ठाकुरद्वारा–डल्ला ५ किमि। काठमाडौंबाट–ठाकुरद्वारा बसमा १४ घन्टा। नेपालगन्ज–ठाकुरद्वारा ९० किलोमिटर।
सम्पर्क : ९८४४८२३३०८ (परशुराम चौधरी)

ध्वजेडाँडा
ध्वजेडाँडाबाट सूर्योदय, कञ्चनजंघा, कुम्भकर्ण, मकालु, ल्होत्से, सगरमाथा आदि हिमाल देखिन्छ। धनकुटाको डाँडाबजार गाविसमा पर्छ ध्वजेडाँडा। लाप्चा जातिले पूजापाठ गरी ध्वजापताका ग्ााड्ने ठाउँ भएकाले ध्वजेडाँडा भनिएको। थुम्कोमा विश्वशान्ति यज्ञकुण्ड छ।

गाउँमा लिम्बु, राई याख्खा, तामाङ, मगर, बाहुन, क्षेत्री, विश्वकर्मा र दर्जी बस्ती छन्। उनीहरूका धान नाच, ढोल नाच, हुर्रा नाच, संगिनी र बालन नाच नाच्छन्।

बजारका ३० घरमा होमस्टे सुविधा छ। तोङ्बा, सुँगुरको सुकुटी, मेलको अमिलो यहाँका विशेषता। त्यहाँ लाप्चेटारमा अजङको बरको रूख छ। त्यसको फेदको गोलाइ २३ मिटर छ। हाँगा १३ रोपनीमा फैलिएको छ।
डाँडाबजार पर्यटन विकास समितिका अध्यक्ष कृष्ण ब्लोनका अनुसार डाँडामा भ्यु–टावर बनाउने योजना छ। बजारबाट ७ किलोमिटरमा राजारानी गाउँ छ। त्यहाँ रानीतालमा बोटिङ सुविधा छ। एक रात बसेर खानपिन गरेको ५ सय रुपैयाँ।

कसरी पुग्ने : धरानबाट भेडेटार हुँदै ३० किलोमिटरमा डाँडाबजार। बजारबाट आधा घन्टा हिँडाइमा ध्वजेडाँडा। धरानदेखि डाँडाबजार, राजारानी, बुधबारे हुँदै रविसम्म मोटरबाटो छ।
सम्पर्क : ९८४२०३४२४९, कृष्ण ब्लोन

ताङतिङ
वारि ताङतिङ, पारि सिक्लेस। दुवै गुरुङ गाउँ। ताङतिङ (१,६८५ मिटर) बाट सिक्लेसको सिरानमा अन्नपूर्ण र लमजुङ हिमशृंखला देखिन्छ। कास्कीको नार्माजुङ गाविसको १ देखि ५ नम्बर वडालाई ताङतिङ भनिन्छ। २ सय धुरी छन्। त्यहाँका महिला भांग्रा र कम्बल बुन्छन्। गाउँमा बौद्ध गुम्बा छ।

गाउँका २० घरमा होमस्टे सुविधा छ। सामुदायिक होमस्टेकी अध्यक्ष दुजामाया गुरुङका अनुसार ०६७ मा होमस्टे सुरु गरिएको हो। पाहुनालाई लोकल कोदोको ढिँडो, कुखुराको मासु, सुकुटी, रक्सी आदि खुवाइन्छ। सांस्कृतिक कार्यक्रम घाटु र सोरठी हुन्छ। ७ सय रुपैयाँ भयो भने एकराते प्याकेजलाई पुग्छ।

कसरी पुग्ने : काठमाडौं–पोखरासम्म बसमा। पोखराको अमरसिंह चोकबाट काहुँखोला ट्याक्सीमा। काहुँखोलाबाट फेदीसम्म २१ किमि बस/जीपमा। काहुँखोलाबाट बिहान ८, १२ र ४ बजे बस छुट्छन्। फेदीबाट आधा घन्टा पदयात्रामा ताङतिङ।

सम्पर्क : दुजामाया गुरुङ ९८४६३५००२१ 

About Nepal Magar Tourism Society

Nepal Magar Tourism Society (NMTS)--the name itself is pretty self-explanatory that who we are and what we do. It was founded in the year 2010, with the aim to unite all the Magar tourism entrepreneurs from across the country and outside and promote tourism--together. It is a non-profit, non-governmental, and non-political organization formally registered with the District Administration Office, Kathmandu ...

read more

About Magar

Magar is one, of the 59 indigenous peoples of Nepal, recognized by the government as indigenous nationalities having own distinct language, culture, rituals and history. Their settlements stretch over the western and southern edges of Dhaulagiri Himalayan range and eastwards to the Gandaki River basin ...

read more

Quick Inquiry